![]() |
खडक पामी आले को |
दोस्रो बिहे !
पत्रपत्रिकामा व्यापक हल्ला भयो । रेडियो, एफ्. एम्.का लागि गहकिलो विषय बन्यो । सानो उमेरमा कमाएको उसको प्रतिष्ठा खाक भयो, अड्कल काटे विज्ञहरूले । नपुगेको के थियो र ? आइमाईको बुद्धि घिच्रोमा हुन्छ भनेको यही हो, एक थरीको भनाइ ।
श्रीमान्को प्रतिक्रिया- म यस विषयमा
बोल्न चाहन्नँ, आइमाईको
चरित्र बुझिनसक्नु
हुँदो रहेछ । जानुभन्दा एक मिनेटअघिसम्म मलाई भान भएन, उस्तै व्यवहार गर्थी, उस्तै स्याहारसम्भार
।
कुकुरलाई घिउ पच्दैन भनेको यही हो ।
पत्रकार,
रेडियोकर्मी उसको डेरामा पुगे । कहाँको
त्यो वैभवशाली घर बङ्गला ? कहाँको दुई कोठे डेरा ।
पहिला उनको घरमा जाँदा गेटमा पालेको रखवाली,
पालेसँगको अन्तर्वार्ता पूरा
भएपछि मात्र पाइन्थ्यो भित्र पस्न । अहिले सरासरी पुगिन्छ कोठामा ।
धेरै ढिपी गरेपछि खुल्न तयार भइन्,
हाम्रो सामु ।
प्रश्न- श्रीमान्ले कुटपिट गर्थे ?
- कहिल्यै
कुटेनन् । झूट बोले पाप लाग्छ ।
प्रश्न- खान, लाउन कुनै कमी थियो
कि ?
- त्यो
हुने कुरै भएन, नोकरचाकरलाई
पनि त्यो समस्या छैन भने म त श्रीमती ।
- अनि
किन त ? प्रश्नको
सङ्केत दोस्रो बिहेतर्फ ।
केही क्षणपछिको जबाफ- सोच्छन्, हो म बहुलाएँ, या त सोच्छन् म
चरित्रहीन भएँ ।
- प्रेमविवाह
हो क्यारे ?
- होइन, बिहेपछि भने मैले
प्रेम गर्न खोजेँ ।
- यहाँको
जस्तो जीवन पाए भनेर टाउको पिट्ने कति छन् । बङ्गला,
गाडी,
नोकरचाकर,
धनदौलत के कमी थियो र फेरि ?
- बङ्गला, गाडी, तब के नै चाहिन्छ एक
जीवन काट्न होइन ?
केहीबेर सोचमा डुबिन् उनी ।
- संसारको
सबैभन्दा अभागी आइमाई छु भन्ने लाथ्यो मलाई ।
- श्रीमान्बाट
कुट्ने-पिट्ने थिएन, धनदौलत, ऐस-आराम सबै थियो अनि
फेरि ? कसरी
अभागी ?
- त्यति
हो जिन्दगी ? त्यसभन्दा
बाहेक पनि त केही छैन, अलि
भित्र पस्नुस् न जीवनभित्र ।
एकमुष्ट जबाफको खोजी भयो हामीबाट ।
- यहाँहरूको
जोडी पनि असाध्य मिल्या थ्यो र यहाँ जति सुन्दर हुनुहुन्छ उहाँ पनि त्यति नै
राम्रो ।
- मलाई
ज्यादै सुन्दरी ठान्नुहुन्छ यहाँहरूले ?
तर उहाँको आँखाले कहिल्यै नियालेन मलाई
।
- चट्ट
परेर बसेकी हुन्थेँ उहाँ बाहिरबाट आउनुहुन्थ्यो । हाम्रा आँखा चार हुन पाएनन् ।
तलदेखि माथि कहिले हेरेको थाहा भएन । उहाँको आँखा भएर हेरिन पाइनँ ।
तारिफका शब्द सुन्न कान लालायित भएर पनि थाके । आँखाले अन्तै केही खोजेजस्तो । अनि
त राम्री हुने जाँगर कहाँ रहन्छ आइमाईमा ?
थपिँदै गयो घटना-विवरण
- उहाँलाई
मन पर्ने खाना बनाउन, कहिले
आˆनै
हातले बनाएर पर्खिबस्थेँ-
स्वाद मानेर कहिल्यै खानुभएन अनि
भान्छामा पस्ने जाँगर कहाँ ? आऊ सँगै खाऊँ
कहिल्यै भन्नुभएन । अनि भोक कहाँ ?
- सँगै
बसेर टेलिभिजन कहिल्यै हेरिएन । म पुगेपछि उहाँको सुत्ने बेला ।
म ओछ्यानमा पुग्दा भित्तातिर फर्केर
निदाइसक्नुभएको हुन्थ्यो । साहस
बटुलेर केही पटक उठाएँ पनि । “डिस्टर्ब नगर न प्लिज” भन्नुभयो, मतिर कोल्टे र्फकनुभएन । थाहा
हुन्थेन निन्द्रामा बोलेको हो कि बिपनामा ।
- साथीहरू
भेला हुँदा अनौठो अनुभव सुनाउँथे, नीला डाम देखाउँथे । म लाटीझैँ सुनिरहन्थेँ- यस्तो पनि हुन्छ र
?
- बिहान
पूजासकेर ओछ्यानमा चिया लिएर जान्थेँ र साथीहरूको कुरा सम्झँदै । मन कल्पिन्थ्यो केके
हो केके ? म
चिया लिएर उभिनै रहेकी हुन्थेँ उहाँ
बाथरुमभित्र छिर्नुहुन्थ्यो । चियासँगै
म चिसिन्थेँ । यही प्रक्रिया
चलिरहृयो । पछि चिया लान छाडिदिएँ ।
- बिहानको
खाना प्रायः उहाँको बाहिर नै हुन्थ्यो । घरमा खाने अवसर पाउँदा म बोलिरहन्थेँ
एकोहोरो । उहाँ टाउको मात्र हल्लाउनुहुन्थ्यो कुनैकुनै बेला । म
पनि कम बोल्न लागेँ ।
- उहाँको
अफिस जाने तयारी चल्दा कोठामै अलमल गरेर बस्थेँ । सरक्क निस्कनुहुन्थ्यो ।
थाहा भएन अँगालोमा बाँधिनु के हो ?
लाग्थ्यो सँगीहरूले झूटो बोलेका हुनुपर्छ
– आˆनो श्रीमान्को बारेमा
।
- आफू
अफिस पुगेपछि मौका मिलाएर फोन गर्थें । उहाँले सोध्नुहुन्थ्यो “के काम छ ?” मैले भन्थेँ- “खासै छैन ।” उहाँले भन्नुहुन्थ्यो
“किन
गरेको त्यसो
भए ?” मोबाइलमा
कुनै बेला क्यान्सिल गरिदिनुहुन्थ्यो,
मन नराम्ररी चिमोटिन्थ्यो । सँगै
खाजा खान गइएन । श्रीमान्-श्रीमती होटलमा सँगै लन्च-डिनर लिन्छन्
भन्दा अचम्म लाग्थ्यो- यस्तो पनि हुन्छ र ?
- सँगै
रहँदा जन्मदिनहरू आए । म्यारिज एनिभरसरीहरू आए । शुभकामनाका दुई शब्द कहिल्यै पाइनँ, उपहार त सपनाको कुरा
। मध्यरात बितिसक्दा पनि मनले
कुरिरहन्थ्यो । बिहेको दोस्रो वर्षमा
भनेँ- “मलाई
यस्तो मन पर्छ । नजिक बाँधेजस्तो लाग्छ । एक पत्ता टिकी, एक दर्जन चुरा नै किन
नहोस् यस्तो बेलाको
उपहार अति प्यारो हुन्छ ।” उहाँले
सुनि मात्र रहनुभयो । मैले सोचेको
थिएँ –
मलाई राम्रो लाग्ने कुरा गर्न उहाँलाई
मन पर्ला । त्यसपछिका जन्मदिनहरू पनि जसरी आए त्यसै गरी गए । कुनै परिवर्तन भएन । म
भने कुर्न छाडिनँ
। सायद, श्रीमती
कुरा बनाउँछन् मेरो श्रीमान्ले दियो भनेर- मन बुझाउँथे यसरी ।
- बिहे
भएपछि दुई जना घुम्न जान्छन् भन्ने सुनेकी थेँ,
घुम्न किन जान्छन् मलाई थाहा भएन ।
यस्तो पनि हुन्छ र ?
- यसैबीच
म गर्भवती भइछु । मैले उहाँलाई सुनाएँ । उहाँको मुखमा न खुसी थियो न दुःख नै ।
भावविहीन । मैले केही पढ्नै सकिनँ । हर्ष छ कि विस्मात ।
- पछि
चार महिनाको गर्भ गयो । गमलामा रोपेको बिरुवा सुकेर जाँदा त मन चुँडिन्छ भने मेरो
कोखको सन्तान । म रित्तिएको आभास भयो । रोएर तकिया साँच्चै भिज्दो रहेछ
। आधारात बित्दा समेत बैठकमै बसेर क्रिकेट हेरिरहनुभयो । टेलिभिजन हाम्रो
कोठैमा पनि थियो, मैले
कोठामा बस्न अनुरोध गरेकी थिएँ ।
भन्नुभयो – ग्रुप भएर हेर्न मजा
आउँछ । बैठकमा चिच्च्याउनुहुन्थ्यो
उहाँहरू ‘छक्का, क्याच
Û’ म
रगत र आँसुले लतपतिरहेँ । उहाँ क्रिकेटको
हारजित सकिएपछि बैठकमै निदाउनुभएछ ।
- मन
पर्ने लुगा, मन
पर्ने खानासम्म थाहा भएन उहाँलाई । कहिल्यै एक जोर लुगा किनेर दिनुभएन – सँगै बजार कहिल्यै
गइएन ।
- बाहिर
सँगै निस्किनै हालियो भने अगाडि सँगैको सिटमा कोही परिवारको सदस्य या अरू नै
हुन्थे, कहिल्यै
सँगै बसिएन ।
फोनको घण्टी बज्यो- एक्लै सर्माइन्, भुतुक्क आफैँसँग ।
फेरि कुरा अगाडि बढाइन् ।
- एक
दिन साहस बटुलेर पोखेँ आˆना
गुनासाहरू । झन्डै वादविवाद नै भयो ।
“तिमी मसँग खुसी छैनौ भने आˆनो बाटो रोज” ठीक यही वाक्य
बोल्नुभएको थियो उहाँले
। त्यस रात धेरै रातिसम्म म रोइरहेँ । उहाँको अगाडि पहिलो पटक रोएकी थिएँ । उहाँ
भित्तातिर नै फर्किरहनुभयो, कोल्टे
नफेरीकन भन्नुभयो, “मेरो दिमाग चाट्ने काम नगर
।”
- हो, उहाँले कमाइको पैसा
मेरो हातमा राखिदिएर भन्ने गर्नुहुन्थ्यो- ‘बैङ्कमा पठाइदिनू ।’
- जिन्दगीको
त्यत्रो यात्रामा मन्दिरसमेत सँगै गइएन । श्रीमान्-श्रीमती बोलाइएका बिहे
पार्टीमा समेत सँगै भइएन । उहाँ जानुहुन्थ्यो अफिसबाटै । चू. लेखेको कार्ड टेबलमा
हाँसिरहन्थ्यो ।
- दोस्रो
पटक म गर्भवती भएकी थिएँ । आफैँ डाक्टरकहाँ जान्थेँ जचाउन । कुनै दिन सोध्नुभएन
कस्तो छ- मेरो र बच्चाको हालत । मलाई ज्वरो आउँदा,
निधारमा छाम्नुभएन कहिल्यै । त्यस दिन
बिदाको दिन थियो । घरै बस्न अनुरोध
गरेँ । ज्यादै गाह्रो भाथ्यो शरीरमा, मन्दमन्द पेट
दुखिरहेथ्यो । साथीको बच्चाको भात खुवाइमा नगै नहुने बताएर उहाँ निस्कनुभयो । त्यही
दिन उहाँ नर्फकंदै
असहृय पेट दुखेर मेरो गर्भ गयो दोस्रो पटक । दुखाइ,
आमा बन्न नसक्नुको पीडाले
छटपटाएँ । उहाँले मसँगै बसेर सान्त्वनासम्म पनि दिनुभएन । मेरो टाउको
सुमसुमाउनुभएन, हात
समाउनुभएन । आँसु बगिरहृयो । मन फुकाएर रुने साथी पाइनँ, त्यस बेला ।
कुरा गर्दै रहँदा फोनको पुनः घण्टी
बज्यो- उनको मुखमा जून फुल्थ्यो । फोनमा कुराकानीपछि -
- मन
विरक्तिँदै गयो । बाँच्नुभन्दा मर्नुमा नै जीवनको सार्थकता देखेँ । त्यो जीवनभन्दा
आरामदायी रोजेँ । तन्नाको पासो बनाएर झुन्डिएँ पनि । दुर्भाग्य तन्ना
च्यातिएर म बचेँ । यो घटनालाई लिएर उहाँ ममाथि बजि्रनुभयो । “के गर्न खोजेकी मेरो
बेइज्जत ? म
समाजमा मुख देखाउन लायकको रहने थिइनँ ।”
ज्यादै रिसाउनुभयो । हाम्रो दूरी बढेको
अनुभव भयो त्यस बेला ।
- दूरी
बढ्दै गयो । दूरी बढ्दै गयो सरासर ।
- एक
दिन मैले भनेँ- “हाम्रो
दूरी बढ्दै छ । कृपया यसलाई रोक्नुस् ।”
उहाँले भन्नुभयो, “मलाई धम्की दिएकी ?” मैले भनेँ, “मलाई सहयोग गर्नुस् दूरी बढिरहेको छ ।
यसलाई चाहेर पनि छोट्टाउन नसकिएला कुनै दिन ।”
- दिन
उस्तै रहे । कुनै परिवर्तन आउन सकेन ।
- म
चुरोट पिउन लागेँ लुकीछिपी ।
- लोग्नेको
छातीमा निदाउनुमा स्वर्ग छ भन्थे, मलाई थाहा थिएन त्यो स्वर्ग कस्तो हुन्छ ?
कुरा चल्दै रहँदा तीन पटक फोन आयो ।
मुस्कुराउँदै भनिन्- ‘मलाई
अलि टाउको
दुखेकोले कस्तो छ भनेर सोध्नुभएको उहाँले ।’
अलि लाजमानी शिर निहुराइन् यति बेला ।
हो मैले सँघार नाघेकी छु । उहाँले
कुट्ने-पिट्ने कहिल्यै गर्नुभएन, खान-लाउन प्रशस्त थियो । त्यसको अर्थ रहेन ।
हामीलाई बिदा गर्ने सुरमा भनिन्-
“भोलि
आउनुभएको भए हामी कुरा गर्न सक्ने थिएनौँ । भोलि मेरो जन्मदिन पारेर हामी एक साताको
लागि घुम्न जाँदै छौँ । भरे नै हामी हिँड्छौँ यहाँबाट ।”
घाँटीको दाहिनेतिर कालो कोठीनिर सानो
नीलडाम हाँसिरहेको थियो ।
साभरः (नीहारिकाको
कथासंग्रह हवनबाट)
1 comment:
कथा पढेर टिप्पाणी गर्नु होला
Post a Comment